काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बिहीबार खेलिएको महत्वपूर्ण खेलमा साविक विजेता इङ्ल्यान्ड श्रीलंकासामु निरीह बनेको छ । पाँचौँ चरणको अन्तिम खेलमा पूर्वविजेता श्रीलंकाले साविक विजेता इङ्ल्यान्डलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो ।जारी विश्वकपमा पाँचौँ खेल खेलेको इङ्ल्यान्डको यो चौथो हार हो । पाँचौँ खेल खेलेको श्रीलंकाको भने यो दोस्रो जित हो । जितसँगै श्रीलंकाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना प्राविधिक रुपमा जिवितै राखेको छ । चौथो हारपछि इङ्ल्यान्डको भने सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
बेंगलौरमा खेलिएको खेलमा इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङ गर्दै ३३.२ ओभरमा अलआउट हुनुअघि एक सय ५६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने २५.४ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।श्रीलंकाको जितमा ओपनर ब्याट्सम्यान पाथुम निसानकाले अविजित ७७ रनको योगदान गरे । उनले ८३ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सदिरा समराविक्रमाले पनि टोलीका लागि अविजित ६५ रनको योगदान गरे ।
ऋाक्रामक रुपमा प्रस्तुत भएका सदिराले केवल ५४ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । श्रीलंकासामु साविक विजेता इङ्ल्यान्डको ब्याटिङ र बलिङ दुबै फितलो देखिएको थियो । इङ्ल्यान्डका बलर डेभिड विलीले दुई विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि कुनै पनि ब्याट्सम्यानले अर्धसतकसम्म बनाउन सकेका थिएनन् । चौथो नम्बरका ब्याट्सम्यान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाएका थिए । ओपनर जोनी ब्रेस्टो ३० रनमा पेभेलियन फर्किएका थिए ।
अर्का ओपनर डेविड मलान पनि २८ रनभन्दा अगाडि बढ्न सकेनन् । यसदेखि वाहेक इङ्ल्यान्डका लागि मोइन अली (१५ रन) र डेभिड विली (अविजित १४ रन) वाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन् ।श्रीलंकाली टोलीका बलर लाहिरु कुमाराले तीन विकेट लिएका थिए । उनले सात ओभरमा केवल ३५ रन खर्चिए । कसुन रजिथा र एन्जेलो म्याथ्युजले पनि दुई—दुई विकेट हात पारे । यो जितपछि श्रीलंकाले जारी विश्वकपको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । जारी विश्वकपमा शुक्रबारदेखि छैठौँ चरणको खेल सुरु हुनेछ ।