काठमाण्डौ ।
फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेको छ ।
आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएको थियो । उसका लागि खेलको ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गोल गरे । पहिलो हाफमा लाओस १–० ले अघि रह्यो ।
खेलको दोस्रो हाफको ४९ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि अञ्जन विष्टले गोल गरे । यो गोलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनको यो १३ औँ अन्तर्राष्ट्रिय गोल हो । नेपालबाट हरि खड्का र निराजन रायमाझीको पनि अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ छ ।