साझा डायरी,बाणगंगा ।
नेपाल शितोरियो कराते-डो संघ, बाणगंगा समितिद्वारा आयोजित एक दिने बाणगंगा नगर स्तरीय कराते प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। बाणगंगा नगर भित्र विभिन्न क्लब र स्कूलमा प्रशिक्षण लिईरहेका करिब ३०० जना खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री खिम बहादुर जिसी ज्यूको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिति सदस्य एवं होराइजन ईङ्ग्लिश बोर्डिंग स्कूलका प्राचार्य श्री वासुदेव घिमिरे ज्यूको विशिष्ट आतिथ्यता, जिल्ला भलिबल संघका अध्यक्ष श्री भरत थापा र जिल्ला कराते महासंघका अध्यक्ष श्री सगर खासु मगरको अतिथ्यता रहेको थियो।
नगर भित्र रहेका कराते खेलाडीहरूलाई आफ्नो क्षमता र सिपलाई अझै अब्बल बनाउन सहयोग पुग्ने र भोलिका दिनमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा सहभागी गराउनको लागि आधार स्तम्भ तयार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा नेपाल शितोरियो कराते-डो संघ, बाणगंगा समितिका अध्यक्ष श्री दल बहादुर नेपालीको अध्यक्षता रहेको थियो।
बाणगंगा डोजोका वरिष्ठ प्रशिक्षक श्री कृष्ण बन्जाडेले संचालन गरेको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि श्री वासुदेव घिमिरेले यस किसिमका स्थानीय स्तरमा संचालन हुने प्रतियोगिताले नगर भित्र उत्कृष्ट प्रतिभावान खेलाडीको उत्पादन हुने र भोलि गएर जिल्लाको प्रतिनिधित्त्व गर्न सक्ने सक्षम खेलाडी पनि यहि बाट तयार हुन सक्ने अनि त्यसको लागि व्यक्तिगत र समग्र स्कूलको तर्फबाट पनि सहायोग गर्न पछि नपर्ने बताउनु भयो।
असोज १३ गते सिद्धार्थ क्याम्पस सभा हलमा राखिएको उक्त प्रतियोगिता विविध प्राविधिक कठिनाइले गर्दा केहि बाँकि रहेका तौल समुहका स्पर्धा २० गते शनिबार सम्पन्न गरिएको थियो।
नेपाल शितिरियो कराते-डो संघ कपिलवस्तुका अध्यक्ष एवं राष्ट्रिय रेफ्री श्री डम्बर बहादुर सोमैको प्राविधिक संयोजकत्त्वमा सम्पन्न भएको उक्त प्रतियोगितामा १३ स्वर्ण, ३ रजत र ५ कास्य पदकका साथ बाणगंगा डोजो टिम प्रथम, ४ स्वर्ण, ४ रजत पदकका साथ गजेहडा डोजो टिम द्वितीय र ४ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ बरोवा डोजो टिम तृतीय हुन सफल भएका थिए।