काठमाण्डौ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हराउँदै विजयी शुरुवात गरेको हो ।
जितका लागि २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २ सय ५ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका बास डि लिडले सर्वाधिक ६७ र विक्रमजित सिंहले ५२ रन बनाए । लोगन भान विक २८ रनमा अविजित रहे । उसका अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ३ विकेट लिए । हसन अलीले २ तथा शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद नवाज र शादब खानले समान एक विकेट लिए ।
त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अल आउट भएको थियो । पाकिस्तानका मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रन जोडे।नेदरल्यान्ड्सका बास डी लिडले ४ विकेट तथा कोलिन एकरम्यानले २ विकेट लिए ।
अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ग्ल्यान्डलाई ९ विकेटले हराएको थियो । विश्वकपमा आज दुई खेल हुँदैछन् । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ । त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् ।