काठमाडौँ ।
ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका निक्षेपकर्ताको साढे ४ करोड रकम हिनामिना गर्ने अध्यक्ष काभ्रेपलाञ्चोकका रविन्द्र चौलागाईं पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान (ब्यूरो) सिआइबीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ।
देउराली बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले निक्षेपकर्ताहरूलाई आर्कषक ब्याज दिने प्रलोभन देखाइ निक्षेपकर्ताको रकम मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएकामा अध्यक्षसहितका पदाधिकारीहरूले हिनामिना गरेका थिए।
सहकारीले मासिक तथा त्रैमासिक र वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेकोमा रकमको सावाँ, ब्याज फिर्ता नदिइ हिनामिना गरेका प्रहरीले जनाएको छ। पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडितहरू प्रहरीमा पुगेका थिए।
अहिलेसम्म प्राप्त उजुरीमा चार करोड ५० लाख रकम अपचलन र हिनामिना गरेको उल्लेख रहेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। उनलाई पक्राउ गरी कारबाही थालिएको सिआइबीले जनाएको छ। प्रहरीले सबै पीडितहरूलाई सम्पर्कमा आउन अनुरोध पनि गरेको छ।