सल्यान ।
सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको सनाखत भएको छ।मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले बताउनुभयाे ।
डिएसपी कार्कीका अनुसार बुढा सवारी धनी हुन् भने घर्ती चालक हुन्। उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो।
आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो।
दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको डिएसपी कार्कीले जानकारी दिए।
दुर्घटनाबारे बिहान सवा ६ बजे प्रहरीले सूचना पाएको थियो। प्रहरीले तीव्र गतिका कारण जिप अनियन्त्रित भइ दुर्घटना भएको आकलन गरेको छ।