काठमाडौँ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन रोक्न सक्रिय रहेको बताएका छन्।
बुधवार मानव बेचबिखनविरुद्धको सत्रौँ राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताएका हुन्। उनले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवालाहरूसँग हातेमालो गरेर काम गर्न पनि सरकार प्रतिबद्ध रहेको बताए।
उनले सामूहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने बताए। सरकारले यस सन्दर्भमा विभिन्न गतिविधि गर्दै आइरहेको पनि उनले स्पष्ट पारे।
उनले भने, ‘नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्रिय रहेको र यसको नियन्त्रणका लागि सम्पूर्ण सरोकारवालासँग हातेमालो गरी कार्य गर्न प्रतिबद्ध रहेको जाहेर गर्न चाहन्छु। सबैको सामूहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने हुँदा हामी सबैमा यो दिवसले मानव बेचबिखनको नियन्त्रण र रोकथामको लागि प्रतिबद्ध हुँदै थप ऊर्जाशील भई काम गर्ने प्रेरणा प्रदान गरोस् र नेपाल मानव बेचबिखन नियन्त्रणको उदाहरणीय मुलुक बन्न सकोस्।’
उनले भारतसँगको खुला सीमा, गरिबी‚ नागरिकको न्यून सचेतना स्तर र मानव बेचबिखनको बदलिँदो प्रवृत्तिका कारण समस्याको समाधान अपेक्षित रूपमा हुन नसकेको बताए। मन्त्री आचार्यले सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिका कारण पनि समस्या देखा परेको उल्लेख गरे।