नेकपा (एमाले) लुम्बिनी प्रदेश नेतृत्वका चयनको लागि मतदान जारी छ। बिहान सवा ८ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिले जानकारी दिएको छ।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ। सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

सहमति जुट्न नसकेपछि साँझ सातबजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइए पनि मतदानको लागि आवश्यक तयारी पूरा नभएपछि राति १० बजे सूचना गरेर मंगलबार बिहान ८ बजेका लागि समय सारिएको थियो। कुल १ हजार ४ प्रतिनिधि सहभागि अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ। महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कडेललाई समर्थन गरेका छन्। योसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत कँडेल र रिजाल पक्षमा विभाजित भएको देखिन्छ।