धनगढी ।
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बच्चा जन्मिने समय नहुँदै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।
सूचना अधिकारी उपाध्यायका अनुसार शल्यक्रिया गरेर मृत शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।
शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् मृतक परियार मुर्छा परेको र आइसीयूमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ।
तर, मृतकका आफन्तले भने अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको आरोप लगाएका छन्। मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्यु हुन पुगेको बताइन् ।