रुपन्देही ।
रुपन्देहीमा घरेलु हिंसामा वृद्धि भएको पाइएको छ । पछिल्लो ६ वर्षमा रुपन्देहीमा दुई हजार ७८१ घरेलु हिंसाविरुद्धका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । यो आर्थिक वर्ष २०७४/०७५ देखि ०७९/०८० सम्मको तथ्याङ्क हो ।
घरेलु हिंसाका घटनालाई स्थानीय तहमा समेत हेरिन्छ । तर प्रहरीमा उजुरी पर्ने क्रम कम नभएको रुपन्देही प्रहरीका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक सविता जिसीले बताउनुभयो । सबैभन्दा धेरै उजुरी आर्थिक वर्ष २०७४/०७५ मा पाँच सय ९४ वटा दर्ता भएका छन् ।
प्रहरीका अनुसार घरेलु हिंसाका ९९ प्रतिशत घटना महिलामाथि हिंसा भएका छन् । त्यसमा अधिकांश घटना पतिबाट यौन विचलनका कारण भएको पाइन्छ । आफन्त त्यसमा पनि पतिबाट भएका हिंसाविरुद्ध प्रहरीमा पुगेका महिलाले सहज न्याय पाउन सकेका छैनन् । प्रहरीमा पुगेका धेरै घरेलु हिंसाका घटना दर्ता गर्न समस्या छ ।
प्रहरीले यस अवधिमा चार जनाको मात्रै मुद्दा दर्ता गरेको छ । दर्ता भएकालाई अनुसन्धान थाल्न र टुङ्ग्याउन थप समस्या भएको अधिकारकर्मी हेमा न्यौपानेले बताउनुभयो ।