दाङ्ग ,साउन २६ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय मदिरा उत्पादनका साथै ब्रान्डिङ, कृषि उत्पादन र पर्यटनबाट १२ जिल्लाका ६ लाख महिला र युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी योजना अघि सारेका छन् ।उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम शीर्षकमा आर्थिक वर्ष २०८०र०८१ को बजेटमा डेढ अर्ब छुट्टाएका छन् भने डेढ अर्ब रुपैयाँ संघीय सरकारबाट ल्याउने दाबी गरेका छन् । यसका लागि विज्ञसहितको टोलीबाट कार्यविधि बनाउने तयारीमा मुख्यमन्त्री कार्यालय रहेको छ । तराईमा रहेका थारु समुदायलाई मौवाको मदिरा, कृषि उत्पादन र पर्यटनमा चौधरीलाई मुख्य जोड दिएका छन् । ‘तराईमा मौवा, कोदो, अनादिसहित अन्य स्थानीय मदिरा उत्पादनलाई व्यवस्थित र उद्योगको रुपमा लगेर ब्रान्डिङ गर्ने हो,’ मुख्यमन्त्री चौधरीले भने, ‘थारु, मगर र गुरुङ समुदायमा यसको उत्पादन हुन्छ ।
उत्पादन गर्ने, प्याकेजिङ र बजारीकरण गर्ने छुट्टाछुटै जनशक्ति परिचलान हुन्छन् ।’यसका लागि संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री र सचिव एवं राजस्व विभागसँग छलफल भइरहेको उनले बताए । सबै कुरा सकारात्मक भएकाले कानुनी प्रक्रिया सहज गराइने उनले बताए । हाल उत्पादन भइरहेको स्थानीय मदिरालाई व्यवस्थित गर्दै उद्योगको रुपमा लैजानुपर्ने उनको तर्क छ ।