रुपन्देही, १८ असार । झुटो विवरण पेस गरी अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले रुपन्देहीमा दम्पतीलाई पक्राउ गरेको छ ।
इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२ वर्यीया सीता कसौधनलाई आज साेमवार पक्राउ गरिएको हो । कसाैधन दम्पतीले आफूसँग नाता नै नरहेका एक जनालाई छोरा र दुई जनालाई छोरी भनेर झुटो विवरण पेस गरेका थिए ।
इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु ज्ञवालीले पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यायल बुटवलको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयाे । नागरिकताका लागि आवेदन दिन जाने व्यक्तिहरू रमेश र सीताका छोराछोरी हुन भनेर बुटवल–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको बताइएको छ ।
पक्राउ परेका रमेशले २०६७ जेठ ३० गते सीतासँगकाे विवाह दर्ता र छोरा मनोज तथा सरिता र सन्ध्या भन्ने छोरीहरू हुन् भनेर जन्मदर्ता गराएको देखिन्छ । रमेशले २०७६ सालमा सीतालाई वैवाहिक अङ्गीकृत नागरिकतासमेत दिलाइसकेका थिए ।
प्राप्त र प्रमाणित कागजातका आधारमा नागरिकताका लागि सिफारिस गरेको बुटवल–१ का वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।