पोखरा, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताएका छन्। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ।’
उनले थपे,’प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ।’
उनले अर्थतन्त्र विस्तारै लयमा फर्किएको बताए। यस्तै, आफ्नो भारत भ्रमण ऐतिहासिक भएको पनि उनको दाबी थियो।
‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन,’ उनले भने।
भारतसँग भएको १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको उनले जिकिर गरे।
उनले भने, ‘पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो। विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ। यो आउने पिँढीले पनि सम्झिरहने काम हो।’
उनले आफू छिट्टै चीन भ्रमणमा जाने र त्यसका लागि तयारी भइरहेको पनि जानकारी दिए। ‘छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,’ उनले भने,’एयररूटका लागि भारतसँग कुरा गरिएको छ। छिट्टै त्यो निष्कर्षमा पुग्छ। चीन जाँदा पनि यो विषयमा छलफल हुन्छ।’