कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंसम्मका लागि अत्याधुनिक सुविधासम्पन्न रात्रिकालीन बस सेवा औपचारिक रूपमा सुरु भएको छ। मिति २०८३ साल कार्तिक २० गतेदेखि सञ्चालनमा आएको उक्त बस सेवाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत शाहले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभएको हो।

‘नमस्ते कपिलवस्तु (शुभयात्रा)’ को पहलमा सुरु गरिएको यस बस सेवाले कृष्णनगर तथा आसपासका क्षेत्रका यात्रुहरूलाई काठमाडौं आवतजावत गर्न थप सहज, सुरक्षित र आरामदायी सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

बसका सञ्चालकहरू कमल पौडेल, भक्त के.सी. र राजेन्द्र भण्डारीले जानकारी दिनुभएअनुसार सम्पूर्ण आधुनिक सुविधासहितको उक्त बस दैनिक साँझ ५ बजे कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंका लागि प्रस्थान गर्नेछ भने काठमाडौंको नयाँ बसपार्कबाट साँझ ७ बजे कृष्णनगरका लागि छुट्नेछ।

यात्रुहरूको सुविधा, सुरक्षा र आरामलाई प्राथमिकतामा राखेर सेवा सञ्चालनमा ल्याइएको सञ्चालकहरूले जानकारी दिनुभयो। उहाँहरूका अनुसार यस सेवाले कृष्णनगर तथा आसपासका क्षेत्रका नागरिकलाई काठमाडौं आवतजावत गर्न थप सहज बनाउने विश्वास गरिएको छ।

यसका साथै, सुविधासम्पन्न यातायात सेवाको विस्तारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा नेपालको पर्यटन क्षेत्रको विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कृष्णनगरबाट काठमाडौंसम्मको यात्रालाई थप सहज, सुरक्षित र स्तरीय बनाउने उद्देश्यसहित सुरु गरिएको यो सेवा स्थानीय यातायात क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।