पशुपति गिरी,कपिलवस्तु । आसन्न निर्वाचनको तयारीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच छलफल सम्पन्न भएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको संयोजकत्वमा बसेको बैठकमा निर्वाचनको तयारी, मतदानस्थल तथा मतदान केन्द्रको व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको हो।

जिल्ला निर्वाचन अधिकारी कमल भुसालले कपिलवस्तु जिल्लामा हाल २३५ मतदानस्थल र ४९० मतदान केन्द्र रहेको जानकारी दिनुभयो। उहाँले जिल्लामा कुल ४ लाख २२ हजार ३७९ जना मतदाता रहेको समेत बताउनुभयो।

बैठकमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ मा उल्लेख गरिएका मापदण्ड, काम, कर्तव्य, अधिकार तथा जिम्मेवारीका विषयमा सहभागीहरूलाई जानकारी गराउनुका साथै आवश्यक छलफल गरिएको थियो।

निर्वाचनलाई व्यवस्थित, निष्पक्ष, शान्तिपूर्ण तथा सुरक्षित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो।

बैठकमा मतदानस्थल तथा मतदान केन्द्रको निर्धारण र व्यवस्थापन गर्दा अपनाउनुपर्ने प्रक्रिया, कानुनी प्रावधान तथा सम्बन्धित निकायहरूको भूमिकाका विषयमा विचारविमर्श गरिएको थियो।

निर्वाचनको पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त छलफलमा स्थानीय तह, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।