पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुई कोठे प्रहरी ब्यारेक भवनको उद्घाटन सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टको प्रमुख आतिथ्यता तथा बाणगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भट्टले नवनिर्मित ब्यारेक भवनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक भट्टले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारसँगै समुदायको सहयोग र सहकार्य पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो । भवन निर्माणमा सहयोग पुर्‍याउने बाणगंगा नगरपालिका,स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सम्पूर्ण समुदायप्रति उहाँले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि प्रहरी र नागरिकबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालले प्रहरी नागरिकको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने महत्वपूर्ण निकाय भएकाले प्रहरीलाई आवश्यक पूर्वाधार तथा सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले स्थानीय समुदायको सहयोग र सहकार्यबाट निर्माण सम्पन्न भएको यस भवनले प्रहरी कर्मचारीलाई सहज रूपमा कार्यसम्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, बाणगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डनले प्रहरी र स्थानीय समुदायबीचको सहकार्यले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँले प्रहरीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भवन निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले प्रहरी कर्मचारीको बसोबास तथा कार्यसम्पादनलाई सहज बनाउन ब्यारेक भवनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष डिलाराम भुसाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बाणगंगा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय समुदायको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त दुई कोठे ब्यारेक भवनले प्रहरी कर्मचारीको आवास व्यवस्थापनमा सहयोग पुग्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।