शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ स्थित ढाव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा शितगंगा नगरपालिका–१४ का वडाध्यक्षले ढाव सामुदायिक वनले स्थानीय विकासमा सहकार्य गर्दै सकारात्मक भूमिका खेलेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले वन संरक्षण उपभोक्ताको साझा दायित्व भएको उल्लेख गर्दै सामुदायिक वनको संरक्षण र सदुपयोगले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

विशिष्ट अतिथि तथा सबडिभिजन वन कार्यालय डोहोटेका वरिष्ठ फरेस्टर यमबहादुर केसीले वनमा रहेका स्रोतसाधनको उचित सदुपयोग गर्न सके सामुदायिक वनले आर्थिक लाभसमेत लिन सक्ने बताउनुभयो।

सभामा समूहका अध्यक्ष भोजराज न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ५२ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावित बजेटमार्फत अति विपन्न वन उपभोक्ता परिवारको गरिबी न्यूनीकरण तथा जीविकोपार्जनमा सहयोग, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण र खेलकुद व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो।

समूहका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य, टोल विकास संस्था, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन यादवप्रसाद न्यौपानेले गर्नुभएको थियो।