पशुपति गिरी,कपिलवस्तु । नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा सामाजिक सद्भावको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित कपिलवस्तु ओएसिस क्लबले ‘सचेतनामूलक सडक नाटक प्रतियोगिता, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना गर्ने भएको छ।

आगामी कात्तिक २७ गते शुक्रबार साँझ ५ः३० बजेदेखि बाणगंगा नगरपालिका–८, बोडगाउँमा आयोजना हुने कार्यक्रममा सडक नाटक प्रतियोगिता, देउसी–भैलो तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने कार्यक्रम संयोजक प्रदीप चौधरीले जानकारी दिनुभयो।

कार्यक्रममार्फत समाजमा बढ्दै गएका विकृति, विसङ्गति, लागुऔषध दुर्व्यसन, बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा, घरेलु हिंसा, बालश्रम, आत्महत्या, वातावरणीय प्रदूषण, वन डढेलो, चोरी निकासी तथा साइबर अपराधलगायतका सामाजिक समस्याविरुद्ध जनचेतना फैलाउने लक्ष्य राखिएको छ।

त्यसैगरी भ्रष्टाचार, घुसखोरी, जातीय विभेद, छुवाछुत, राजनीतिक विकृति, निर्वाचनमा हुने पैसाको चलखेल, सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, बेरोजगारी, मानव बेचबिखन, सडक दुर्घटना न्यूनीकरण तथा सुशासनलगायतका विषयलाई समेत सडक नाटकका प्रस्तुतिका विषयका रूपमा समेटिएको छ।

स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्दै सामाजिक रूपान्तरणमा युवाहरूको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने समूहले १० हजार रुपैयाँ, द्वितीय हुनेले ७ हजार रुपैयाँ र तृतीय हुनेले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सहभागी सबै समूहलाई सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा व्यक्ति वा समूहले सहभागिता जनाउन सक्नेछन्। प्रस्तुतिको अधिकतम समय ७ मिनेट निर्धारण गरिएको छ। प्रस्तुतिमा सामाजिक सचेतनासँग सम्बन्धित विषयवस्तु हुनुपर्ने तथा जातजाति, धर्म, भाषा, संस्कृति, लिङ्ग वा कुनै समुदायको अपमान हुने गतिविधि गर्न नपाइने आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न समूह, संस्था तथा टोलीहरूलाई सहभागी हुन आह्वान गर्दै कार्यक्रम संयोजक चौधरीले आफ्नो कला, प्रतिभा र प्रस्तुतिमार्फत कार्यक्रम सफल बनाउन सबैको साथ, सहयोग र उपस्थितिका लागि आग्रह गर्नुभएको छ।