बाणगंगा । बालबालिकाको मनोविज्ञान बुझ्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–८, बोडगाउँस्थित चिल्ड्रेन्स प्याराडाइज इङ्लिस बोर्डिङ हाई स्कुलले ‘अभिभावक पाठशाला’ सञ्चालन गरेको छ।

‘बुझौँ बालमन, बनाऔँ सुन्दर भविष्य’ भन्ने मूल नारासहित सोमबार आयोजित कार्यक्रममा करिब ३०० जना अभिभावकको सहभागिता रहेको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रमाणित एनएलपी प्रशिक्षक तथा जेसीआई नेपालका प्रशिक्षक रमेश अर्यालले ‘सचेत अभिभावकत्व’ विषयमा प्रशिक्षण दिएका थिए। उनले बालबालिकाको मनोविज्ञान, भावना, व्यवहार र आवश्यकतालाई बुझेर उनीहरूसँग सकारात्मक संवाद गर्नुपर्नेमा जोड दिए। बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा असल संस्कार निर्माणमा अभिभावकको व्यवहार र पारिवारिक वातावरणले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिका–८ का वडाध्यक्ष बाबुराम अर्यालले बालबालिकाको भविष्य निर्माणमा विद्यालय र अभिभावक दुवैको उत्तिकै जिम्मेवारी रहने बताए। उनले शिक्षा प्रदान गर्नुका साथै बालबालिकाको व्यवहार, संस्कार, स्वास्थ्य र मानसिक विकासमा समेत विशेष ध्यान दिनुपर्ने धारणा राखे।

विद्यालयका प्रबन्ध निर्देशक विष्णु अर्यालले अभिभावकलाई बालबालिकाको सिकाइ प्रक्रियामा थप जिम्मेवार र सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। विद्यार्थीको शैक्षिक गुणस्तर, अनुशासन, व्यवहार तथा सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, विद्यालयका प्रिन्सिपल माधव बेल्वासेले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयले पठनपाठनसँगै विद्यार्थीको चौतर्फी विकासलाई प्राथमिकता दिएको बताए। अभिभावक र विद्यालयबीच नियमित संवाद तथा सहकार्य हुन सके बालबालिकाको सिकाइ उपलब्धि थप प्रभावकारी हुने उनले धारणा राखे।

कार्यक्रमको दोस्रो सत्रमा बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले पत्रुखाना (जंकफुड) निषेध तथा यसको प्रयोग न्यूनीकरणका विषयमा अभिभावकसँग अन्तरक्रिया गरेको थियो। अन्तरक्रियामा जंकफुडले बालबालिकाको स्वास्थ्यमा पार्न सक्ने असर, पोषणयुक्त खानाको महत्त्व तथा घर र विद्यालयमा स्वस्थ खानपानको वातावरण निर्माण गर्ने विषयमा छलफल गरिएको थियो।

श्रीपेच होटलको सभाहलमा सम्पन्न कार्यक्रमले अभिभावकलाई बालमनोविज्ञान बुझ्न, सकारात्मक अभिभावकत्व अपनाउन र बालबालिकाको स्वस्थ तथा उज्ज्वल भविष्य निर्माणमा थप जिम्मेवार बन्न प्रेरित गरेको विद्यालयले जनाएको छ।