पशुपति गिरी,बाणगंगा । बाणगंगा नगरपालिका–७ ले वडाको समग्र विकासलाई लक्षित गरी अघि सारेका ४ गौरवका गुरुयोजनाहरू सम्पन्न गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारदेखि पर्यटन प्रवर्द्धनसम्मका क्षेत्रमा काम गर्दै वडा–७ ले विकासमा फड्को मारिरहेको छ।

निर्वाचनका बेला वडाबासीसमक्ष गरेका प्रतिबद्धता पूरा गर्दै अघि बढेको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो। दुई कार्यकालसम्म वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका गिरीले वडाबासीको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई निरन्तरता दिँदै आउनुभएको छ।हरेक आर्थिक वर्षमा बाणगंगा नगरपालिकाभित्रका अन्य वडाको तुलनामा योजनाहरू छिटो सम्पन्न गर्दै आएको वडा–७ ले पछिल्ला वर्षहरूमा विकास निर्माणमा गति बढाएको छ। वडाले अघि सारेका चारवटा गौरवका गुरुयोजनामध्ये सडक, खानेपानी, पर्यटन तथा शवदाहस्थल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण कामहरू उल्लेखनीय रूपमा अघि बढेका छन्।

बनगाई–मोतिपुर सडकमा ३० वर्षपछि कालोपत्रे :

वडा–७ को पहिलो गौरवको योजनाका रूपमा रहेको बनगाईदेखि मोतिपुरसम्मको सडक निर्माण सम्पन्न भएको छ। बनगाई चोकदेखि मोतिपुर हुँदै कोपिलधामसम्मको सडकलाई १३ मिटर फराकिलो बनाइएको छ। सडकको दुवैतर्फ नाला निर्माण गरी ७ मिटर फराकिलो भागमा कालोपत्रे गरिएको छ।

करिब ३० वर्षदेखि जीर्ण अवस्थामा रहेको उक्त सडक अहिले फराकिलो र व्यवस्थित भएर कालोपत्रे भएपछि स्थानीयबासी खुसी भएका छन्। लामो समयदेखि आवतजावतमा समस्या झेल्दै आएका स्थानीयलाई सडक निर्माणपछि सहज भएको छ।

‘एक घर, एक धारा’ अभियानमा ९५ प्रतिशत काम सम्पन्न :

वडा–७ को अर्को महत्वपूर्ण योजना ‘एक घर, एक धारा’ पनि करिब ९५ प्रतिशत सम्पन्न भएको छ। बाँकी कामलाई तीव्र गतिमा अघि बढाइएको छ।वडाबासीलाई दीर्घकालीन रूपमा स्वच्छ र सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब २३ करोड रुपैयाँको लगानीमा ४ हजार घनमिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको छ। पाँच कठ्ठा जग्गामा कम्पाउण्ड वालसहित भवन र गार्ड कोठासमेत निर्माण हुँदैछ।

यस योजनाअन्तर्गत करिब २ हजार घरमा खानेपानीको पाइपलाइन पुगिसकेको वडा अध्यक्ष गिरीले बताउनुभयो। घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यका साथ अघि बढाइएको योजनाले वडाबासीको लामो समयदेखिको खानेपानीसम्बन्धी समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

खारखानीमा ‘दिलपार्क’, बढ्दै पर्यटकको आकर्षण :

वडा–७ ले पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखेर बनगाई खारखानीमा ‘खारखानी दिलपार्क’ निर्माण गरेको छ।करिब ५ बिघा क्षेत्रफलमा निर्माण गरिएको पार्कमा तारबार, प्रवेशद्वार, फूलबारी, पिङ–झुला, ६ वटा शौचालय, विभिन्न आकारका ‘दिलपार्क’ तथा सुपादेउराली मन्दिरलगायतका संरचना निर्माण गरिएको छ।

दिलपार्क निर्माणपछि खारखानीमा पिकनिक खान, घुमघाम गर्न तथा मनोरञ्जनका लागि आउनेको संख्या दिनानुदिन बढ्दै गएको छ। स्थानीयस्तरमै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको खारखानीले वडाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ।

लक्ष्मणघाट शवदाहस्थलको व्यवस्थापन :

वडा–७ को अर्को गौरवको योजना लक्ष्मणघाट शवदाहस्थल व्यवस्थापन हो। लक्ष्मणघाट पुल छेउदेखि शवदाह क्षेत्रसम्म जाने बाटो वर्षायाममा हिलाम्मे हुने समस्या थियो। उक्त समस्या समाधान गर्न करिब ६ सय मिटर आरसीसी ढलानको बाटो निर्माण गरिएको छ।

मलामी तथा मृतकका आफन्तलाई सहज होस् भन्ने उद्देश्यले ६ वटा प्रतीक्षालय, २ वटा शौचालय, शवगृह, खानेपानीको व्यवस्था तथा नदी तटबन्धन समेत गरिएको छ।यसअघि वर्षायाममा शवदाहस्थलसम्म पुग्न कठिन हुने गरेकोमा सडक तथा अन्य संरचना निर्माण भएपछि मलामी र स्थानीयबासीलाई सहज भएको छ।

स्वास्थ्य चौकीको आफ्नै भवनबाट सेवा :

वडा–७ ले स्वास्थ्य क्षेत्रमा समेत महत्वपूर्ण काम गरेको छ। वडामा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरी सोही भवनबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको छ। आवश्यक कर्मचारी व्यवस्थापन भएपछि स्थानीयबासीले आफ्नै वडामा सहज रूपमा स्वास्थ्य सेवा पाउने अवस्था बनेको वडा अध्यक्ष गिरीले बताउनुभयो।

यसअघि सामान्य स्वास्थ्य सेवाका लागि समेत अन्यत्र जानुपर्ने अवस्थालाई कम गर्दै स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण तयार भएको छ।

शिक्षा क्षेत्रमा दुईतले पक्की भवनदेखि पूर्वाधार विस्तारसम्म :

वडा–७ ले शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ। वडाभित्र रहेका सामुदायिक विद्यालयमध्ये केही विद्यालयमा दुईतले पक्की भवन निर्माण गरिएको छ।विद्यालयका भौतिक संरचना निर्माण तथा सुधारसँगै विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने वातावरण तयार गर्ने प्रयास गरिएको छ।

सडक, नाला, पुलदेखि सामुदायिक भवनसम्म विस्तार :

भौतिक पूर्वाधारतर्फ वडाभित्र रहेका अधिकांश सडकमा कालोपत्रे तथा नाला निर्माण गरिएको छ। आवश्यक स्थानमा पुल तथा कल्भर्ट निर्माण गरिएका छन्। सुविधा सम्पन्न सामुदायिक भवन, मन्दिर तथा प्रतीक्षालयलगायतका सार्वजनिक संरचना पनि निर्माण भएका छन्।

त्यस्तै धैरेनीडाँडादेखि कोइली बनगाईसम्मको सडक तथा नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ। नदी कटानका कारण बस्ती तथा खेतीयोग्य जमिनमा पर्ने जोखिम घटेपछि गाउँ नै सुरक्षित भएको स्थानीयको भनाइ छ।

‘वडाबासीको आवश्यकताअनुसार काम गरिरहेका छौँ’ :

वडाले आफ्ना गौरवका योजनासँगै स्थानीयको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउँदै आएको स्थानीय बताउँछन्। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, तटबन्धन तथा सार्वजनिक संरचनामा भएका कामले वडाको स्वरूपमा परिवर्तन ल्याएको उनीहरूको भनाइ छ।

वडा अध्यक्ष विष्णु गिरीले विगतमा सुरु भएका तर अधुरा रहेका विकास निर्माणका कामलाई पूरा गर्दै आगामी दिनमा पनि वडाबासीको आवश्यकता र प्राथमिकताका आधारमा योजना अघि बढाउने बताउनुभयो।आर्थिक वर्ष २०८३/०८४ मा अधुरा रहेका विकास निर्माणका कामलाई निरन्तरता दिँदै वडाबासीको आवश्यकता र मागअनुसार नयाँ योजनाहरू अघि बढाउने उहाँको भनाइ छ।

बनगाई–मोतिपुर सडक, एक घर एक धारा, खारखानी दिलपार्क तथा लक्ष्मणघाट शवदाहस्थल व्यवस्थापनजस्ता योजनासँगै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, तटबन्धन र सार्वजनिक पूर्वाधारमा भएको कामले वडा–७ लाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने आधार तयार गरेको छ। यी कामसँगै वडालाई नमुना वडा बनाउने लक्ष्यतर्फ वडा अघि बढेको देखिन्छ।