रुपन्देही । रसुवालगायतका जिल्लामा आएको बाढीमा परी मृत्यु भएर बगेर नारायणी हुँदै गण्डक ब्यारेजमा ५४ वटा सग्ला शव भेटिएका छन् । उनीहरुबाहेक २५ वटाका विभिन्न अंगहरु मात्रै भेटिएका छन् ।

अहिलेसम्म भेटिएका शवमध्ये एकजनाको मात्र सनाखत भएको छ भने ५३ वटा शव व्यवस्थापनको चुनौती बढेको छ । गोरखा पालुङटार नगरपालिका ७ स्याम्ली भञ्ज्याङ बस्ने २८ वर्षीय समी कुमालको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले जनाए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको शव उनका दाजुले सनाखत गरेपछि परिवारको जिम्मा लगाइएको छ । थापाका अनुसार अब ती शवहरुको डिएनए परीक्षणको प्रकृया अघि बढेको छ ।

हालसम्म भेटिएका शवमध्ये रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा १९ र भीम अस्पतालमा २ गरी २१ र कपिलवस्तुमा ६ वटा रहेका छन् । अन्यनवलपरासीमै रहेकाले अब कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले यहाँ भेटिएका मध्ये रुपन्देही, नवलपरासी तथा कपिलवस्तुका विभिन्न अस्पतालमा राखिएको तर शव धेरै सडिसकेकाले छिटो व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भेटिएका धेरै शवहरु अनुहार नै नचिनिने अवस्थामा रहेको, कुहिसकेको अवस्थामा रहेकाले यसले थप महामारी ल्याउनसक्ने जोखिम भएकाले छिटो व्यवस्थापन गर्नुपर्ने अवस्था आइलागेको बताए ।

‘धेरैजसो शव सडिसकेका छन्, यहाँ भएका अस्पतालमा धेरै शव राख्नसक्ने क्षमताका पनि छैनन्, त्यसैले छिटा अर्को महामारीबाट जोगाउन पनि यी शवको व्यवस्थापन जरुरी छ’ उनले भने, ‘यसका लागि माथिबाट स्वीकृति लिनुपर्ने हुन्छ, केही संभावित स्थानहरु हेरिएको छ, केहीको पोष्टमार्टम पनि हुँदैछ, भोलि नै बसेर केही टुंगो लगाउनुपर्ला ।’

रुपन्देही, नवलपरासी र कपिलवस्तुका शवगृह भरिएपछि फलामका बाकसमा राखियो, दुर्गन्ध बढेपछि वैकल्पिक व्यवस्थापनको तयारी
अहिले परासीबाट आएका शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याउन थालेपछि अस्पतालको शवगृहले धान्न नसक्ने अवस्था भएको छ।

एकैपटक ठूलो संख्यामा शव आउन थालेपछि अस्पतालले वैकल्पिक व्यवस्थामार्फत शव सुरक्षित राख्न थालेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमका अनुसार अस्पतालमा हालसम्म १९ वटा शव ल्याइएको छ। तीमध्ये एक शवको पोस्टमार्टम पूरा भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए।

‘अहिले शवको सङ्ख्या बढ्दै गएको छ । मर्चरीको क्षमताले धान्न नसक्ने अवस्था भएपछि उपलब्ध स्रोतसाधन प्रयोग गरेर शव व्यवस्थापन गरिरहेका छौँ,’ डा. गौतमले भने, ‘पहिचान र पोस्टमार्टमको कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।’

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रेम गौतमले मर्चरीमा शव राख्ने ठाउँ नपुगेपछि अस्पतालले वैकल्पिक रूपमा फलामका बाकस बनाएर त्यसमा बरफ राखी शव सुरक्षित राखिरहेको बताए।

‘मर्चरीले धान्न नसकेपछि अस्पतालले फलामका बाकस बनाएर त्यसमा बरफ राखेर शव व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने, ‘गर्मीको समयमा शव बिग्रिने जोखिम बढी हुने भएकाले तत्कालका लागि बरफको प्रयोग गरेर सुरक्षित राख्ने व्यवस्था मिलाएका छौँ।’

बाढीका कारण अस्पतालमा शव आउने क्रम अझै बढ्न सक्ने भएकाले थप व्यवस्थापन आवश्यक देखिएको प्रेम गौतमले बताए। उपलब्ध स्थान र स्रोतसाधनको अधिकतम प्रयोग गर्दै शव सुरक्षित राख्ने प्रयास भइरहेको उनको भनाइ छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गर्ने चिकित्सक भए पनि उनी हाल बिदामा रहेकाले बाहिरबाट चिकित्सक बोलाएर पोस्टमार्टमको व्यवस्था मिलाउनुपरेको गौतमले बताए। यसले शव परीक्षण व्यवस्थापनमा थप चुनौती थपिएको उनले जानकारी दिए।

उनका अनुसार कोरोना महामारी, भूकम्पलगायतका विपद्का समयमा पनि अस्पतालले ठूलो संख्यामा शव व्यवस्थापनको चुनौती सामना गरेको थियो। तर अहिले बाढीका कारण छोटो समयमै धेरै शव आउन थालेपछि मर्चरीको क्षमता अपर्याप्त भएको उनले बताए।

बाढीमा परी मृत्यु भएकाहरूका शव विभिन्न स्थानबाट फेला पर्ने क्रम जारी रहेकाले पहिचान र पोस्टमार्टमको कामसमेत चुनौतीपूर्ण बनेको छ।

अस्पतालले पहिचान खुलेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्ने तथा पहिचान हुन नसकेका शवलाई सुरक्षित राख्ने व्यवस्था मिलाइरहेको जनाएको छ।

शवको पहिचानका लागि प्रहरीसँग समन्वय गरी आवश्यक विवरण संकलन गर्ने काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ। बाढीका कारण मृत्यु भएका व्यक्तिका आफन्त सम्पर्कमा आएपछि आवश्यक प्रमाणका आधारमा शव पहिचान गरी जिम्मा लगाउने प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ।

बाढी प्रभावित जिल्लाबाट शव फेला पर्ने क्रम जारी रहेकाले अस्पतालमा आउने शवको संख्या बढ्न सक्ने र यस्तो अवस्थामा शवको सुरक्षित भण्डारणसँगै समयमै पोस्टमार्टम तथा पहिचानको काम अघि बढाउनु अस्पतालका लागि मुख्य चुनौती बनेको डा. गौतमले बताए ।

उता कपिलवस्तुमा पठाइएका शव भने कोल्डस्टोरमा राखिएको त्यहाँस्थित प्रहरी प्रवक्ता रिपेन्द्रकुमार सिंहले बताए । ‘पिपरा अस्पतालमा राखिएको छ, अहिलेसम्म ६ वटा शव आएका छन् कसैको सनाखत भएको छैन, शव गृह नभएर अस्पतालमै आइससहितको कोल्डस्टोर बनाएर राखिएको छ’ उनले भने ।