बाणगंगा, कपिलवस्तु । प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा विपद्पीडितप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजित ‘एकताको बन्धन’ डोरो बाँध्ने तथा दीप प्रज्वलन कार्यक्रम आज बाणगंगामा सफलतापूर्वक सम्पन्न भएको छ।

पहिलो पाइला नेपाल, बाणगंगा शाखाको आयोजनामा कपिलधाम आरोग्य मन्दिर, बाणगंगामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै विपद्बाट प्रभावित घाइते तथा परिवारजनको शीघ्र स्वास्थ्यलाभ र सुख–शान्तिको कामना गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले ‘एकताको बन्धन’का रूपमा डोरो बाँध्दै विपद्को समयमा एक–अर्काको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए। ‘एक मन, एक हात, एक संकल्प’ भन्ने भावनाका साथ आयोजित कार्यक्रमले मानवता, सद्भाव, सेवा र एकताको सन्देश प्रवाह गरेको थियो।

कार्यक्रममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्न समेत आह्वान गरिएको थियो। विपद्का बेला पीडितहरूको उद्धार, राहत तथा उपचारमा सहयोग गर्नु सबैको साझा जिम्मेवारी रहेको भन्दै सहयोगका लागि सबैलाई अपिल गरिएको थियो।

प्राकृतिक विपद्का कारण ठूलो पीडा भोगिरहेका परिवारप्रति सहानुभूति प्रकट गर्दै आयोजित कार्यक्रमले ‘मानवता, सद्भाव र सेवा’लाई आत्मसात् गर्दै संकटको समयमा सबै एकजुट हुनुपर्ने सन्देश दिएको छ। दीप प्रज्वलन र डोरो बाँध्ने कार्यक्रममार्फत पीडितप्रति साथ, सहयोग र आशाको भावना व्यक्त गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको संयोजन सचिन भट्टराईले गरेका थिए। पहिलो पाइला नेपाल, बाणगंगा शाखाको आयोजनामा भएको कार्यक्रम २०८३/०५/१२ गते कपिलधाम आरोग्य मन्दिर, बाणगंगामा सम्पन्न भएको हो।

एकताको डोरोमा बाँधिँदै हात, दीपको उज्यालोमा बाँडिँदै आशा—विपद्पीडितसँगै उभिने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको