कपिलवस्तु । ग्रामीण भेगका विपन्नहरुको सर्वाङ्गीण विकासका लागि खोलिएका गैरसरकारी संस्थाहरु आफन्त, नातागोता र नजिकका साथीभाइको आर्थिक हैसियत उकास्न प्रयोग भएको पाइएको छ । अशिक्षा, गरिबी तथा कुपोषणका तथ्याङ्क देखाएर दातृ निकायसँग अनुदान लिने कपिलवस्तुका गैर नाफामूलक संघ संस्थामा सामाजिक तथा आर्थिक भ्रष्टाचार मौलाउदै गएको चर्चा छ ।

जिल्लामा सबैभन्दा बढी दातृ निकायबाट अनुदान रकम सम्झौता गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपन्न लक्षित कार्यक्रम आफन्त लक्षित गरेको आरोप लाग्न थालेको छ । उक्त संस्थाका अधिकांश कार्यक्रम, योजना तथा क्रियाकलापसँगै कर्मचारी भर्ना समेत सञ्चालक तथा कार्यकारी निर्देशकका परिवारको एकल नियन्त्रणमा रहेकाले पनि त्यसो गर्न सहज बनेको उनीहरुको दाबी छ ।

कालिकाले सञ्चालन गरेको ‘पोषण मार्फत् जीवन रुपान्तरण’ कार्यक्रम सञ्चालनका लागि राखेका कर्मचारीहरुमध्ये अधिकांश बोर्ड सञ्चालक तथा एकै परिवारका सदस्य देखिन्छन् । हेलन केलर र आइडी नेपाल मार्फत् कालिकाले वार्षिक ६ करोड हाराहारी बजेट खर्च गर्दै आएको उक्त कार्यक्रममा सञ्चालकले आफन्तलाई प्राथमिकता दिएको तथ्य खुलेको छ ।

स्रोतका अनुसार सञ्चालक समिति अध्यक्ष मन्दिप सिंहका नजिकका नातेदार कार्की परिवारको प्रोजेक्टमा हालीमुहालीको अवस्था छ । सोही संस्थामा कार्यरत कर्मचारी राजेन्द्र कार्कीकी श्रीमती रीता कार्की प्रोजेक्टको फाइनान्स असिस्टेन्टमा कार्यरत छिन् । ज्वाईं आकाश पौडेल खाद्य तथा पोषण संयोजक हुन् भने छोरी शुभांगी प्रोजेक्टबाट एक वर्षअघि मात्र पद खारेजीसँगै बिदा भएकी थिइन् । 

 
एक वर्ष अघिसम्म पोषणमा कार्यरत रीतालाई योग्यता नपुग्दानपुग्दै ‘माथिको दबाब’मा फाइनान्स एसिस्टेन्ट बनाइएको गाइँगुईं छ । उक्त प्रोजेक्टको अवधि सन् २०२९ सम्म छ । 

यस्तै सञ्चालक समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार सञ्जय लम्सालका भाई सन्दिप लम्साललाई उद्यमी तथा मार्केटिङ प्रमुख बनाइएको छ भने उनकी श्रीमती गीता लम्साल वित्त संयोजक छिन् । गीतालाई अघिल्लो कार्यसमितिले परियोजना सञ्चालनका क्रममा आर्थिक अनियमितता गरेको भन्दै कालोसूचीमा राखेको थियो । तर सञ्चालक समितिकै दबाबमा उनलाई पुनः आर्थिक जिम्मेवारी दिइएको कर्मचारी स्रोत बताउँछ । 

यसैगरी, कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले भाई विसेन्द्र सिंह रावललाई कार्यालय सहयोगी बनाएका छन् भने संस्थाका आजीवन सदस्य तथा विजयनगर वडा नम्बर ७ का अध्यक्ष दिनेश चौधरीकी भाई बुहारी चन्द्रावती चौधरी पनि कर्मचारी हुन् । जर्मनीको अन्धेरी हिल्फे प्रोजेक्टअन्र्तगत खाद्य सुरक्षामा सामुदायिक रुपान्तरण कार्यक्रममा चौधरीलाई कर्मचारी बनाइएको हो । यसैगरी बोर्ड सदस्य सीमा शर्मा ठाकुरकी छोरी रोशन ठाकुरलाई कालिकाको पोषण कार्यक्रममा कर्मचारी नियुक्त गरिएको छ । आजीवन सदस्य रहेका अजय चौधरी जर्मनीको अन्धेरी हिल्फेको सहयोगमा सञ्चालित खाद्य सुरक्षामा सामुदायिक रुपमान्तरणका लागि पैरवी कार्यक्रम संयोजक हुन् । 

कालिकाले विभिन्न दातृ निकायमा सञ्चालन गरिरहेका ६ वटा प्रोजेक्टमा अधिकांश सञ्चालक समिति, आजीवन सदस्य र उनका परिवार भित्रका व्यक्तिहरु रहेको बताइन्छ । दातृ निकायले अनुगमन नगर्दा संस्थामा हितको द्वन्द्व हुने र भ्रष्टाचारलाई प्रश्रय मिलेको कतिपयको आशंका छ । 

सार्वजनिक रुपमा सूचना निकाल्ने तर निष्पक्ष र पारदर्शी प्रक्रिया पूरा नगरी आफन्त भर्तिकेन्द्र बनाइरहेको गैरसरकारी निकायलाई नियमन गर्ने तह समेत कमजोर बनेका छन् । अनुदान दिने दातृ निकाय, नियमन गर्ने समाजकल्याण परिषद तथा अनुगमन गर्ने जिल्लास्थित सरकारी निकायको बेवास्ताका कारण गैरसरकारी संस्थाहरुमा कागजी सुशासनका नाममा भ्रष्टाचार मौलाएको कतिपयको ठहर छ । ( साभार : जनआस्था )