कपिलवस्तु ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कपिलवस्तु क्षेत्र नं. १ मा प्रत्यक्षतर्फका उम्मेदवार मोहनलाल आचार्यले ‘जनतासँग उम्मेदवार’ कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।

कार्यक्रमअन्तर्गत प्रत्यक्ष रूपमा मतदातासँग संवाद गर्दै उनीहरूको सुझाव संकलन गरिएको बताइएको छ ।

पार्टीले सञ्चालन गरेको ‘जनतासँग उम्मेदवार’ कार्यक्रम लिएर घरदैलो अभियानमा जुटेका उम्मेदवार आचार्यले परिवर्तन भाषणमा होइन, व्यवहारमा देखिनुपर्ने मान्यताका साथ आफू राजनीतिमा आएको बताए । आजको आवश्यकता हरेक नागरिकको सक्रिय सहभागिता रहेको उनको भनाइ छ ।

भ्रष्टाचार, कुशासन र कुरीतिरहित पारदर्शी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण सबैको साझा सपना बन्नुपर्नेमा उनले जोड दिए । यो सपना साकार पार्न सबै एकजुट भएर अघि बढ्नुपर्ने भन्दै उनले घरदैलोका क्रममा जनतासँग अपिल गरिरहेका छन् । संवादका क्रममा ‘अबको भोट घण्टीलाई’ भन्ने सन्देशसँगै मतदाता उत्साहित देखिएका छन् ।

आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन् । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन् ।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्र नभई सामाजिक तथा नागरिक अभियानहरूमा पनि निरन्तर सक्रिय रहँदै आएका छन् ।

रास्वपाबाट उम्मेदवार बनेपछि उनले ‘राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक–केन्द्रित शासन प्रणाली’ लाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउँदै आएका छन् ।