काठमाडौँ ।

साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आफ्नो दोस्रो खेलमा भूटानलाई हराएको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो ।

पहिलो खेलमा नेपाल भारतसँग १ गोलले पराजित भएको थियो भने भूटान बङ्गलादेशसँग १२ गोलको फराकिलो अन्तरले हारेको थियो । आजको पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हराएको छ ।

प्रतियोगितामा बङ्गलादेशले लगातार दुई खेल जितेको छ । सबै टोलीले हालसम्म दुई–दुई खेल खेलेका छन् । लगातार दुई खेलमा जित हासिल गरेको बङ्गलादेश ६ अंकसहित शीर्ष स्थानमा छ, समान खेलमा ३ अंकसहित नेपाल र भारत दोस्रो स्थानमा छन् भने अङ्कविहिन भूटान अङ्क तालिकाको पुछारमा छ ।

अब नेपालले समूह चरणको अन्तिम तथा तेस्रो खेल पर्सि बुधवार बङ्गलादेशसँग खेल्नेछ । सिङ्गल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।