काठमाडौँ ।

पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण यही माघ २७ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

पोखरामा हुने प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, नेपाल एपीएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेशनल क्लब, उज्बेकिस्तानको आभा फुटबल क्लब तथा भारतको एक टोली सहभागी हुनेछन् ।

आउँदो फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक पुरस्कार राशि बढाइएको छ । प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

पोखरा गोल्डकपको २५औँ संस्करण फ्लडलाइटमा आयोजना हुने भएको छ । प्रतियोगिता पहिलो पटक फ्लडलाइटमा हुन लागेको हो ।