बुटवल ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कानुनी प्रावधानका कारण चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेको जानकारी दिएकी छन् ।

नेपालको संविधानको धारा २९१ अनुसार विदेशको स्थायी आवास अनुमति (पीआर/ग्रीनकार्ड) त्याग गरेको तीन महिना पूरा भएपछि मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था छ ।

अध्ययनको क्रममा विदेशमा पीआर लिएकी थापाले उक्त कार्ड परित्याग गरेको तीन महिनाको अवधि नपुगेकाले उनी उम्मेदवारी फिर्ता लिन बाध्य भएको स्पष्ट पारेकी छन् । उनले आफ्नो प्रेस विज्ञप्तिमा आफूले नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता नलिएको पनि उल्लेख गरेकी छन् ।

कर्भिका राप्रपा नेता एवं पूर्व गृहमन्त्री निरन्जन थापाकी छोरी हुन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै अब यो क्षेत्रमा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल र नेकपाका विश्वदीप पाण्डेबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।