कपिलवस्तु ।

कपिलवस्तुमा मंगलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन ।

उम्मेदवारविरुद्ध उजुरी दिने समयसीमा बुधबार दिउँसो ३ बजेसम्म तोकिएको भए पनि सो अवधिभित्र कुनै उजुरी नआएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अनन्तराज मरासिनीका अनुसार जिल्लाका कुनै पनि उम्मेदवारविरुद्ध औपचारिक उजुरी दर्ता भएको छैन ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट कुल ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १: दलका १९ जना र स्वतन्त्र १५ जना गरी कुल ३४ जनाले दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २: दलका १७ जना र स्वतन्त्र ११ जना गरी कुल २८ जनाले दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३: दलका १३ जना र स्वतन्त्र २३ जना गरी कुल ३६ जनाले दर्ता गरेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार अब उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध र अन्तिम नामावली सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ ।