कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-२ लोहरौलामा गाउँ समाजको आयोजनामा परम्परागत मकर स्नान त्रिवेणी मेला सुरु भएको छ । शनिबार साँझ गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले मेलाको औपचारिक उद्घाटन गरेकी हुन् । वर्षाैदेखि लाग्दै त्रिवेणी मेला यस वर्ष पनि भव्य रुपमा लागेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले धार्मिक तथा साँस्कृतिक परम्पराको संरक्षण गर्न यस्ता मेलाहरू महत्वपूर्ण हुने बताइन् बताइन् । उनले परम्परागत थारुकाे भाषा, भेषभुषा, कला, खानपिनलाई संरक्षण गर्नुपर्नेमा जाेड दिइन् । उनले त्रिवेणी मेला पहिचान र संस्कृतिसँग जोडिएको बताउँदै यसलाई निरन्तरता दिन स्थानीय सरकार सधैं सहयोगी गर्ने प्रतिबद्धतासमेत जनाइन् ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले मेला सामाजिक एकता र सद्भावको प्रतीक भएको उल्लेख गरे । उनले यस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रमले समाजलाई एकताबद्ध बनाउने बताए ।

थारु समुदायको कला, संस्कृति र पहिचान लाेप हुँदै गएकाे बताउँदै संरक्षणका लागि माैखिक रुपमा बाजागाजा सहित गीत संगीत प्रस्तुत गर्नुपर्नेमा जाेड उनलेे दिए । थारुका कला, संस्कृति हेर्न, चितवन र बर्दिया जानुपर्ने अवस्था आएको बताउँदै यस्ता परम्परागत संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।

यसैगरी ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले मेलाले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने विश्वास व्यक्त गरे । स्थानीय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति जोड्न मद्दत गर्ने बताए ।

यस्तै समाजसेवी राशिद मिर्जाले यस्ता साँस्कृतिक मेलाले समाजका सद्भाव, धार्मिक सहिष्णुता, भाईचारकाे सम्बन्ध र एकतामा महत्त्वपूर्ण टेवा पुग्ने बताए । यसकाे साथै उनलेे शिक्षालाई प्राथमिकता दिँदै अगाडी बढ्नुपर्ने जिकिर गरे ।

लोहरौला गाउँ समाजका अनुसार आज दिउँसो तथा राति विभिन्न सांस्कृतिक नाच र नाटकका कार्यक्रमहरू प्रस्तुत गरिने मेला संयाेजक सुखराम थारुले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, समाजसेवी राशिद मिर्जा, गाैतमबुद्ध साझेदारी बनका अध्यक्ष प्रवेज आलम खाँ लगायतकाे उपस्थिति थियोे । कार्यक्रममा राम सहाय चाैधरीकाे स्वागत मन्तव्य र बलिराम चाैधरीकाे सञ्चालनमा त्रिवेणी मेला सुरु भएको थियोे ।