चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले १८ औं हिउँदे नगरसभा सम्पन्न भएको छ । आइतबार बसेको १८ औं हिउँदे नगर सभाले विभिन्न विधेयक संशोधन प्रस्ताव पारित गरेको छ ।

हिउँदे नगरसभाले शिवराज नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

यस्तै शिवराज नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२, शिवराज नगरपालिकाको व्यवसाय संचालन ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ लाई पारित गरिएको नगरपालिकाले जनाएको छ ।

सभामा आर्थिक विधेयक र विनियोजन विधेयक नगर उपप्रमुख शिवकुमारी थारुले पेश गरेकी थिइन् ।
विभिन्न ऐनहरु विधायक समितिका संयोजक मेहताव आलम खानले प्रस्तुत गरेका थिए ।

नगरसभालाई सम्बोधन गर्दै नगरपालिकाका नगर प्रमुख अजय थापाले चालू आव २०८२/०८३ का लागि विनियोजन गरिएको बजेटलाई शत प्रतिशत कार्यान्वयन गर्ने गरी अगाडी बढेको बताए । नगरसभाले लिएका नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा लागू गर्न सकेमात्र नगरको विकास हुने भन्दै सबै जनप्रतिनिधिलाई आ-आफ्नो ठाउँबाट लाग्न आग्रह गरे ।

सभालाई नगरसभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले सम्बोधन गर्दै हिउँदे नगरसभामा पेश हुन लागेका विधेयक लगायतका एजेण्डाबारे जानकारी दिएका थिए ।सभालाई नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख रामचन्द्र मरासिनीले सञ्चालन गरेका थिए ।