कपिलवस्तु । कपिलवस्तुको पटनामा रहेको मायादेवी साझेदारी वन उपभोक्ता समूहले वनको पुनःउत्पादन कटान क्षेत्रअन्तर्गत झाडी सरसफाई कार्यक्रम गरेको छ। पटनाका ३ वटा पलट र पिपराका २ वटा पलट गरी करिब २० हेक्टर क्षेत्रफलमा झाडी सरसफाई गरिएको हो।

साझेदारी वनका अध्यक्ष दिनेश जयसवालका अनुसार वन संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष दुई पटक झाडी सरसफाई गर्ने गरिएको छ। उहाँले साझा डायरी अनलाइनसँग कुरा गर्दै यो कार्यक्रमले वन क्षेत्रमा नयाँ उत्पादन हुने बिरुवाहरूलाई हुर्कन सहज हुने र कटानपछि पुनःउत्पादन प्रक्रियालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

वन संरक्षण कार्यक्रमअन्तर्गत गरिएको झाडी सरसफाईले अनावश्यक झाडी हटाई प्रकाश, हावा र पोषण तत्वको पहुँच बढाउने भएकाले वनको दीगो विकासमा सहयोग पुग्ने अध्यक्ष जयसवालले बताउनुभयो।स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमले वन संरक्षणप्रति समुदायको चेतना र जिम्मेवारी झनै बढ्ने अपेक्षा गरिएको छ।