कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित श्री सुपादेउराली मन्दिरलाई वडा स्तरीय युवा क्लबले डस्टबिन सहयोग गरेको छ।

मन्दिर परिसरलाई सफा र स्वच्छ राख्ने उद्देश्यले युवा क्लबले पाँच थान डस्टबिन उपलब्ध गराएको हो। क्लबका अध्यक्ष बिमल घिमिरेका अनुसार धार्मिक तथा सार्वजनिक स्थलमा सरसफाइ प्रवर्द्धन गर्न यो सहयोग गरिएको हो।

सामाजिक कार्यमा सानै उमेरदेखि सक्रिय रहँदै आएका घिमिरेको नेतृत्वमा गरिएको यो पहलले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन्। मन्दिर व्यवस्थापन समितिले पनि युवा क्लबको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।