कपिलवस्तु ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिसको विषयमा अर्घाखाँचीमा विवाद देखिएको छ । सन्धिखर्कमा बिहीबार र शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेको थियो ।

प्रत्यक्ष, समानुपातिक र ०८२ माघ २१ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि एक–एक जना मात्रै उम्मेदवारको नाम सिफारिस नगरेको भन्दै युवा समूहले जिल्ला कार्यसमितिविरुद्ध चरणबद्ध आन्दोलनको चेतावनी दिएकोले शुक्रबारको बैठकले कुनै निर्णय लिन सकेन । त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रत्यक्ष उम्मेदवारका रूपमा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु मुस्कान, डा. रामबहादुर बीसी, डा. मुक्तिराम श्रेष्ठ, डा. जयबहादुर टण्डन, पूर्वसभापति कमलप्रसाद भुसाल, जिल्ला सभापति केशव श्रेष्ठ, लेखनाथ पोखरेल र उपसभापति बाबुराम पौडेल आकांक्षी छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपसभामुख पुष्पा भुसाल गौतमले प्रत्यक्ष चुनावबाट पछि हटेर समानुपातिक रोजेकी छन् । पाँच दलीय गठबन्धनको समर्थन पाउँदा पनि ०७९ मा उनी एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् ।

दलित समुदायबाट ललिता सुनार, निर्मला क्षेत्री लगायत उम्मेदवार आकांक्षी देखिएका छन् । राष्ट्रियसभाका लागि कांग्रेस प्रदेश सदस्य शान्ता भण्डारी, रामबहादुर बीसी लगायतका व्यक्तिहरू आकांक्षी छन् ।

अध्यक्षता र अन्य नेताहरूको प्रयासका बाबजुद उम्मेदवारमा सहमति हुन सकेको छैन । तरुण दलका जिल्ला अध्यक्ष तथा सन्धिखर्क नगरपालिका–१२ का वडाध्यक्ष नारायण खड्का, प्रदेशसभा (२) कांग्रेस उपसभापति अर्जुन पोखरेलसहित विभिन्न भ्रातृ संगठनका २२ जना कांग्रेस युवा समूहले हस्ताक्षर गरेर जिल्ला कार्यसमितिलाई ध्यानाकर्षण पत्र पठाएका थिए । उनीहरूले दुई दिन पार्टी कार्यालय घेरेर बसेका थिए ।