पशुपति गिरी,कपिलवस्तु । बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर चोकमा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले एलइडी डिजिटल स्क्रिन जडान गरी स्थानीयवासीलाई सूचना र मनोरञ्जन दुवैको सुविधा उपलब्ध गराएको छ। स्क्रिनमार्फत अहिले एनपिएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्न पाउँदा दर्शकहरूमा उत्साह बढेको छ।

समूहका अध्यक्ष शुशिल सिंह ठकुरीका अनुसार स्क्रिन जडानसँगै वनले एक कार्यविधि तयार पारी सह–सशुल्क सेवामार्फत सूचना प्रसारण गर्ने योजना बनाएको छ।

डिजिटल युगसँग समुदायलाई जोड्ने उद्देश्यले यो स्क्रिन राखिएको हो। सरकारी कार्यालयका सूचना, सामुदायिक वनका गतिविधि, सामाजिक–धार्मिक कार्यक्रम, सांस्कृतिक सम्पदा, कपिलवस्तुका पर्यटन संभावनाहरू तथा विभिन्न आवश्यक सूचनाहरू सबैलाई सरल रूपमा उपलब्ध गराउने हाम्रो लक्ष्य हो, अध्यक्ष ठकुरीले साझा डायरी अनलाइनलाई बताउनुभयो।

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले नियमित रूपमा विविध सामाजिक कार्य गर्दै आएको छ।वन संरक्षण तथा व्यवस्थापन,विपन्न तथा असहाय परिवारलाई सहयोग,विद्यालय तथा सामुदायिक कार्यक्रमलाई समर्थन,चोक तथा सडक क्षेत्रमा सरसफाइ र सुधार,जस्ता कार्यले यस समूहलाई स्थानीयको मनमा अलग्गै स्थान दिलाएको छ।

चारनम्बर चोकमा एलइडी स्क्रिन सञ्चालनमा आएपछि नियमित हिँडडुल गर्ने स्थानीयदेखि व्यापारी, विद्यार्थी र खेलप्रेमीसम्म सबैले यस कदमलाई प्रशंसनीय र समयानुकूल कदमका रूपमा स्वागत गरेका छन्।४ नम्बर क्षेत्रलाई डिजिटल चोक बनाउने हाम्रो अभियानमा स्थानीयको उत्साहले थप हौंसला दिएको अध्यक्ष ठकुरीले बताउनु भएको छ।

उहाँका अनुसार कपिलवस्तुको सामाजिक, धार्मिक र सांस्कृतिक सम्पदा, यहाँका पर्यटन गन्तव्य तथा स्थानीय कार्यक्रमहरूलाई अझ व्यापक रूपमा सार्वजनिकमा पुर्‍याउन एलइडी स्क्रिन प्रभावकारी माध्यम बन्ने विश्वास सामुदायिक वनले व्यक्त गरेको छ।चारनम्बर चोकमा जडान भएको यो स्क्रिन केवल मनोरञ्जनको साधन मात्र होइन, सामुदायिक सूचना प्रवाहलाई आधुनिक बनाउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।