कपिलवस्तु। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाशित आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) तथा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) का अन्तिम नतिजामा कपिलवस्तु जिल्लाका दुई स्थानीय तहले उल्लेखनीय सफलता हासिल गरेका छन् ।

बाणगंगा नगरपालिका​ले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८९.७५ अंक प्राप्त गर्दै देशभरका सबै स्थानीय तहमध्ये आठौँ स्थान हासिल गर्न सफल भएको छ । जिल्लास्तरमा भने बाणगंगाले प्रथम स्थान प्राप्त गरी उत्कृष्ट संस्थागत क्षमता प्रदर्शन गरेको छ । यो उपलब्धीका लागि नगरपालिकालाई उच्च सम्मानसहित प्रशंसा-पत्र प्रदान गरिएको छ ।

यसैगरी विजयनगर गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ९५ अंक प्राप्त गर्दै कपिलवस्तु जिल्लाका स्थानीय तहहरू मध्ये सर्वोत्कृष्ट बन्ने गौरव हासिल गरेको छ । वित्तीय सुशासन, पारदर्शिता र उत्तरदायित्वका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरे वापत गाउँपालिकालाई प्रशंसा-पत्र प्रदान गरिएको हो । गाउँपालिकाले निरन्तर वित्तीय अनुशासन र सुशासन प्रवर्द्धन गर्दै आगामी वर्षहरूमा पनि थप उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।

मन्त्रालयद्वारा सार्वजनिक सूचाङ्कहरूमा कपिलवस्तुको दुबै स्थानीय तहले देखाएको प्रगति स्थानीय सेवा प्रवाह, सुशासन र संस्थागत क्षमतामा महत्वपूर्ण सुधारको संकेत मानिएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुले उत्कृष्ट उपलब्धी हासिल गरेकाले बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकालाई प्रशंसा-पत्रले सम्मान गरेको छ । आइतबार जिल्ला समन्वय समितिकाे आठौ जिल्ला सभा बैठक ताैलिहवामा दुबै पालिकालाई प्रशंसा-पत्रले सम्मान गरेकाे हाे ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यलेले बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उप-प्रमुख रिता कुमारी चाैधरी र विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी र प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाललाई साे प्रशंसा-पत्र हस्तान्तरण गरेका हुन् ।

आज जिल्ला समन्वय समिति कपिलवस्तुकाे आठौँ जिल्ला सभा बैठक भव्य रुपमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ काे लागि निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा सभा अध्यक्ष बाबुराम आचार्यले निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस्तै जिल्ला समन्वय समिति अधिकारी जनार्दन अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।जिल्ला सभा बैठकमा कपिलवस्तुका पालिकाहरुकाे प्रमुुख तथा सभा सदस्यहरुकाे उपस्थिति थियोे । (news source: nilo masi)