२३ असोज, काठमाडौं ।
शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए सरकारले कारबाही गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले गम्भीर ध्यानाकर्षण गराउँदै भनेका छन् कि यदि कसैले राजनीतिक दलमा संलग्नता देखाएमा कानुनी कारबाही गरिनेछ ।

उनको ध्यानाकर्षण पत्रमा भनिएको छ: “आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्दछ ।”

मन्त्री पुनका अनुसार शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार प्राप्त छैन। उनले भने:
“कुनै पनि पेशागत ऐनले त्यस्तो सेवामा कार्यरत व्यक्तिलाई पेशागत हकहित र अधिकारका लागि बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन । यदि कसैले राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट वर्खास्त गर्न सकिने कानुनी व्यवस्था रहेको विषयमा ध्यानाकर्षण गराउँछु ।”

शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय पनि गरिएको छ । मन्त्री पुनले आह्वान गरेका छन् कि संघ–संगठनहरू गैर राजनीतिक, स्वतन्त्र र व्यवसायिक प्रकृतिका बनाइने कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आवश्यक छ ।