काठमाडौँ ।

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले यही कात्तिक २५ गते हुने पालिकास्तरीय जनप्रदर्शनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका छन् ।

उनका अनुसार, कात्तिक २५ गते एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध देशभरका पालिकामा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

यसका लागि झन्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, ह्यान्ड माइक वा हल्का खालको साउन्ड सिस्टमको व्यवस्था गर्न, जनप्रदर्शनका लागि घनाबस्ती भएको बजार क्षेत्र छनोट गर्न तथा प्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोणसभा आयोजना गर्न उनले निर्देशन दिएका छन् ।

साथै, जनप्रदर्शनका भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चारमाध्यममा पठाउन पनि उनले आग्रह गरेका छन् ।

महासचिव पोख्रेलले जनप्रदर्शनका क्रममा प्रयोग गर्नुपर्ने केही नाराहरू पनि सुझाएका छन् —

  • प्रतिगामी षड्यन्त्र मुर्दावाद ।
  • विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर ।
  • २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन गर ।
  • तोडफोड, लुटपाट र आगजनीमा संलग्न अपराधीलाई कारबाही गर ।
  • हत्या, हिंसा र आतंक बन्द गर ।
  • नेकपा (एमाले) जिन्दावाद ।
  • जनताको बहुदलीय जनवाद जिन्दावाद ।