२९ असोज, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
त्यस क्रममा अध्यक्ष लिङ्देनले पार्टीभित्र असन्तुष्ट पक्षलाई चेतावनी दिँदै भने — “विशेष महाधिवेशन बोलाउन कम्तीमा २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्छ ।”

उनका अनुसार राप्रपामा हाल करिब ४,६०० जना महाधिवेशन प्रतिनिधि छन् । २५ प्रतिशतको हिसाबले विशेष महाधिवेशन माग गर्न १२ सयदेखि १३ सय प्रतिनिधिको हस्ताक्षर चाहिन्छ ।

उनले भने, “पार्टीमा कुनै पनि अध्यक्ष हट्ने प्रक्रिया भनेकै विशेष महाधिवेशन हो । १३ सय जति प्रतिनिधिले मेरो योग्यता र कार्यक्षमतामाथि प्रश्न उठाउँदै हस्ताक्षर गरेमा म स्वयं महाधिवेशन बोलाउँछु । अध्यक्ष पद पनि आवश्यक व्यक्ति वा समूहलाई हस्तान्तरण गर्न तयार छु ।”

तर, उनले केही व्यक्तिलाई आफू मन नपरेको आधारमा मात्र अध्यक्ष पद नछोड्ने स्पष्ट पारे । उनका अनुसार पार्टीको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै औपचारिक प्रक्रियाबाटै नेतृत्व परिवर्तन सम्भव छ ।