काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘कुहिएका नेताहरू’लाई नहटाएसम्म मुलुकमा ठूलो परिवर्तन सम्भव नरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै उनले आगामी निर्वाचनमा स्वच्छ र युवा नेतृत्वको अत्यधिक बहुमतको सरकार गठन गर्न सबै नेपालीलाई आग्रह गरेका छन् ।

उनको भनाइमा, ‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन ।’

पुनले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएका युवा जनप्रतिनिधिहरू चयन गर्नका लागि सङ्गठित रूपमा चुनावमा सहभागी हुन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर जनतालाई सुशासन दिने सरकार बनोस् । नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूको चलखेल अन्त्य होस्, र प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था लागू होस् भन्ने सपना देख्ने सम्पूर्ण नेपालीहरूलाई योग्य र संकल्पशील युवा प्रतिनिधिहरू छान्नको लागि झैझगडा नगरी चुनावमा सङ्गठित रूपमा सहभागी हुन आग्रह गर्दछु ।’