२ असोज, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेका छन् र त्यहाँ जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बारेमा जानकारी लिएका छन् ।

सो अवसरमा गृहमन्त्री अर्यालले प्रहरीलाई उच्च मनोबलका साथ राष्ट्र र जनताको हितमा समर्पित रहन निर्देशन दिए । उनले भने, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाइहरूको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सद्भावले प्रहरीको महत्त्व र आवश्यकता पुष्टि गरेको छ। तपाईंहरू उच्च मनोबलका साथ जनताको सेवा गर्नुहोस् ।”

गृहमन्त्रीले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् । उनले प्रहरीलाई कानुनबमोजिम आफ्नो कार्य सम्पादन गर्न निर्देशन समेत दिएका छन् ।

“तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी निभाउनुहुनेछ भन्ने विश्वास यस सरकारको छ । यो सरकार उच्च मनोबलका प्रहरी कर्मचारीको पक्षमा रहेको छ,” उनले थपे ।

यस अघि, गृहमन्त्री अर्यालले काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूको स्थलगत अनुगमन गरेका थिए, जसमा प्रहरी वृत्त दरबारमार्ग, महाराजगञ्ज र रानीपोखरीका इकाइहरूका क्षतिका बारेमा जानकारी लिएका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू, जिल्ला प्रहरी प्रमुखहरू र इलाका प्रहरी प्रमुखहरू भर्चुअल माध्यममार्फत उपस्थित थिए ।