काठमाडौँ, २९ भदौ

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको ललितपुरस्थित च्यासल पार्टी कार्यालयको सोमबार अनुगमन गरेका छन् । अनुगमनका क्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता कार्यकर्ताहरू पनि सहभागी थिए ।

महासचिव पोखरेलले आन्दोलनको क्रममा पार्टी नेता तथा कार्यकर्ताका निजी घरहरूसहित ऐतिहासिक महत्वका शताब्दी पुराना सम्पदाहरू नष्ट भएको जनाउँदै, मुलुकले ठूलो सांस्कृतिक तथा संरचनागत क्षति व्यहोर्नुपरेको बताए ।

“सिंहदरबार, शीतलनिवासजस्ता राष्ट्रिय महत्वका संरचनामा समेत आगजनी प्रयास भएको देखिन्छ,” पोखरेलले भने, “नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाहेकका अधिकांश संरचनाहरूमा क्षति पुगेको छ ।”

उनले केही व्यक्तिहरूले युवाको आन्दोलनलाई लुटपाट र राष्ट्र कमजोर बनाउने योजनामा बदल्ने प्रयास गरेको आरोप लगाउँदै, युवाहरूले यस्ता तत्त्वहरू पहिचान गर्नुपर्नेमा जोड दिए ।

“सरकारले पनि यस्ता विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ,” पोखरेलले भने, “अब पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्छ ।”

एमाले महासचिव पोखरेलले पार्टीले सदैव सुशासन, भ्रष्टाचार नियन्त्रण तथा विकास र समृद्धिको पक्षमा स्पष्ट अडान लिएको भन्दै, वर्तमान सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

यद्यपि उनले अहिलेको सरकार अन्तरिम प्रकृतिको भएकाले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नु नै यसको प्रमुख दायित्व भएको उल्लेख गरे ।

“सधैं सडकबाट जनमत प्राप्त गर्ने प्रयास सफल हुँदैन,” उनले भने, “संविधानमा रूपान्तरित परिवर्तनलाई आधार बनाएर मात्रै देशले विकास र समृद्धिको यात्रा तय गर्न सक्छ । त्यसैले संविधानअनुसार समयमै निर्वाचन आवश्यक छ ।”

पोखरेलले एमालेले हाल उठेका प्रश्नहरूको जवाफ दिन सक्षम रहेको दाबी गर्दै, युवाहरूको भावना, आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्दै मुलुकको नेतृत्व गर्न तयार रहेको बताए ।

“देशभक्तहरूको पार्टी कहिल्यै कमजोर हुँदैन,” उनले जोड दिए, “हामीले युवाहरूका आकांक्षालाई समयमै सम्बोधन गर्न नसकेको हुन सक्छ, परिस्थितिको सही मूल्याङ्कन गर्न ढिला भएको हुन सक्छ, तर त्यसको नाममा देशभक्तिप्रति प्रश्न उठाउनु उचित होइन ।”

महासचिव पोखरेलले पार्टी फेरि सशक्तरूपमा उठ्ने विश्वास व्यक्त गर्दै, च्यासल पार्टी कार्यालयको सफाइ तथा पुनर्निर्माण कार्यमा एकताबद्ध ढंगले लाग्न निर्देशन दिएका छन् ।