काठमाडौँ, २९ भदौ

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै आफूले प्राप्त गर्ने तलब, भत्ता, सुरक्षा लगायतका सबै सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गरेपछि मन्त्री घिसिङले आफूले पाउने सम्पूर्ण सुविधा शहीद परिवारको नाममा स्थापना गरिने कोषमा जम्मा गर्ने जानकारी दिए ।

उनले भने, “मलाई प्राप्त हुने तलबभत्ता शहीद परिवारको नाममा कोष खडा गरेर त्यहीँ जम्मा गरिनेछ ।”

यससँगै मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड (विशेष) लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् । विगतमा लिइएका डेडिकेटेड लाइनहरूको भुक्तानी नगरेका निकाय वा व्यक्तिसँग उक्त रकम असुल गर्ने प्रक्रिया तत्काल अघि बढाउने बताए ।

कार्यक्रममा मन्त्री घिसिङले आफूलाई “माननीय” भन्ने औपचारिक सम्बोधन नगर्न आग्रह पनि गरे । उनले भने, “म साधारण नागरिक हुँ, कृपया माननीय जस्ता शब्द प्रयोग नगरिदिनुहोस् ।”