बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–११, भड्सडबास्थित आशिष शर्माको घर हिजो मंगलबार जेनजी आन्दोलनका प्रदर्शनकारीहरुको आगलागीबाट जलेको छ । आफ्ना आमा र स्वास्थ्य प्रतिकूलतामा रहेका बुबा दिपकुमार उपाध्यायसहित घरमै रहेका बेला आगलागीको घटना भएको शर्माले जानकारी दिएका छन् ।

शर्माले विज्ञप्ति जारी गर्दै उक्त घटनाले आफू र परिवारलाई ठूलो चोट पु¥याएको भन्दै पीडामाथि पनि सकारात्मक सोचसहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

“मेरा पुख्र्यौली घर हरेक परिवर्तनमा जलेको छ, तर हरेक पटक म फेरि उभिएको छु। आज फेरि मेरो घर जलेको छ, तर यसलाई अब मुलुक परिवर्तनतर्फको प्रेरणाका रूपमा लिनेछु,” उनले उल्लेख गरेका छन् ।

शर्माले आफ्ना पुख्र्यौली सम्पत्ति गुमाए पनि समाज र मुलुकको परिवर्तनका लागि योगदान दिने संकल्प व्यक्त गरेका छन् । उनले विगतमा राजनीति, शासन–प्रशासन र पद प्रतिष्ठाबाट टाढा रहे पनि अब समाज परिवर्तन र मुलुक निर्माणलाई नै प्राथमिकतामा राख्ने बताएका छन् ।

उनले आगामी पुस्ताले सुख, शान्ति र भ्रष्टाचारमुक्त समाजमा बाँच्न पाओस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणमा आफू र आफ्ना परिवार निरन्तर लाग्ने विश्वास व्यक्त गरेका छन् ।