कपिलवस्तु । बाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण सुरु गरिएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले वडा नम्बर ७ का २८ जना लाभग्राहीलाई जम्मा दुई बिघा १३ कठ्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गर्नुभएको हो। यससँगै बाणगंगा नगरपालिकाको ‘भूमिहीनलाई जग्गा’ दिने मूल सङ्कल्पको कार्यान्वयनको थालनी भएको छ।

नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरू, भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य, प्रमुख जिल्ला अधिकारी, मालपोत तथा नापी कार्यालयका प्रमुख, सर्वदलीय नेताहरू, राष्ट्रसेवक कर्मचारी, स्थानीय बुद्धिजीवी र ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति थियो।

वडा अध्यक्ष विष्णु गिरीले आफ्नो वडाका २८ जना बासिन्दालाई जग्गा धनी पुर्जा दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै भूमि आयोग, मालपोत र नापी कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो। नगरपालिकाले यो अभियानलाई सबै ११ वडामा तीव्र गतिमा अघि बढाउने जनाएको छ।