बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशले पार्टी सञ्चालन र व्यवस्थापन सुदृढ गर्न उद्देश्यले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम (बुधबार) देखि बुटवलमा सुरु भएको छ। तालिममा रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका पार्टी संगठनका शाखा अध्यक्षहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गर्नुभयो। उहाँले प्रशिक्षणको उद्देश्य पार्टी सञ्चालनमा एउटै विधि र कार्यशैली अपनाउन सघाउ पुर्‍याउने रहेको बताउनुभयो। साथै, उहाँले सबै जिल्लाका शाखा अध्यक्षहरूले यस्ता विषयमा जानकारी पाउन सकून् भनेर यो कार्यक्रम चार चरणमा सञ्चालन गरिने जानकारी दिनुभयो।

उद्घाटन सत्रको अध्यक्षता पार्टी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले गर्नुभयो भने सञ्चालन स्कुल विभाग सदस्य क्षितिज विक्रम खनालले गर्नुभयो।

कार्यक्रमको पहिलो दिन बैठक सञ्चालन, माइन्युट लेखन र तालिम व्यवस्थापन सम्बन्धी विषयमा प्रदेश कमिटी सदस्य युवराज घिमिरे र दलबहादुर गुरुङले सहजीकरण गर्नुभयो।

दोस्रो दिनको तालिममा पार्टी प्रचारको शैली र माध्यमबारे प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डी।आर। घिमिरे, जनसंगठन सञ्चालनमा पार्टीको भूमिका विषयमा कल्पना थापा र पार्टी र विकास निर्माण सम्बन्धी विषयमा उपाध्यक्ष श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम छ।

तेस्रो दिन संगठन सञ्चालनको विधिबारे अध्यक्ष कँडेल, अर्थ राजनीतिका विषयमा केन्द्रीय स्कुल विभाग सदस्य बद्रीनाथ खनाल, योजना तथा छनौट प्रक्रियामा मुख्यमन्त्री कार्यालयका भौतिक पूर्वाधार विज्ञ जीवन अर्यालले प्रशिक्षण दिनुहुनेछ।

यसैगरी, माक्र्सवाद र जनताको बहुदलीय जनवादमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली र समसामयिक राजनीति तथा एमालेको भविष्यबारे केन्द्रीय सचिव तथा इन्चार्ज पद्मा अर्यालले सहजीकरण गर्नुहुनेछ।