वाणगंगा । वाणगंगा नगरपालिकाको ईलाका प्रशासन कार्यालयले अबदेखि नयाँ स्थानबाट सेवा दिन सुरु गरेको छ । यसअघि सञ्चालन हुँदै आएको पुरानो स्थानबाट स्थानान्तरण भई अब कार्यालय वाणगंगा नगरपालिका–४ स्थित वडा कार्यालय भवनको दोस्रो तल्लाबाट सेवा दिन थालेको हो।

नयाँ स्थानबाट सेवा शुभारम्भको अवसरमा आयोजित एक समारोहका प्रमुख अतिथि नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीका लागि सहज र पहुँचयोग्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यालय सरकारी भवनमा सरेसँगै भाडा खर्च घट्ने र सेवा प्रवाह थप व्यवस्थित हुने बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले प्रशासन सेवा छिटो, सहज र सर्वसुलभ बनाउने उद्देश्यले स्थानान्तरण गरिएको जानकारी दिनुभयो । साथै कार्यालय दोस्रो तल्लामा रहेका कारण जेष्ठ नागरिक, अपांगमैत्री सेवा प्रवाहका लागि आवश्यक संरचनागत व्यवस्थामा ध्यान दिन कार्यालय प्रमुख र कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

कार्यक्रमको विशेष क्षणमा दुई जना सेवाग्राहीलाई नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्रदान गर्दै नयाँ स्थानबाट सेवा प्रवाहको औपचारिक सुरुआत गरिएको थियो, जसले विधिवत रूपमा प्रशासन सेवा सञ्चालनमा आएको संकेत गरेको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष छवि रेस्मी मगरले गर्नुभयो । उहाँले सेवा सिधै वडाबाट प्राप्त हुने भएकाले वडावासीहरूलाई सिफारिससँगै अन्य प्रशासनिक सेवा पनि सजिलै उपलब्ध हुने बताउनुभयो। वडा अध्यक्ष रेस्मी मगरले थप भन्नुभयो, “प्रत्यक्ष सेवा प्रवाहले जनताको समय, पैसा र श्रमको बचत हुनेछ, जुन सेवा सुशासनको उत्कृष्ट उदाहरण बन्नेछ।”

कार्यक्रममा वडा अध्यक्षले वडालाई स्थायी रूपमा सेवा केन्द्र बनाउनका लागि गजेहडा बजार व्यवस्थापन समितिले ३ कठ्ठा जग्गा प्रशासन र प्रहरी भवन निर्माणका लागि आगामी फागुनसम्म व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको जानकारी पनि दिनुभयो।

स्थानीय नागरिकहरूले आफ्नो वडामै प्रशासनिक सेवा पाउँदा विशेष सन्तोष व्यक्त गर्दै यस्तो सेवा विकेन्द्रिकरणले जनजीवन सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।

नगरपालिका, वडा कार्यालय र प्रशासन कार्यालयबीचको समन्वयले अघि बढाइएको यो अभ्यासले भविष्यमा सेवा प्रवाहलाई थप पारदर्शी, पहुँचयुक्त र जनमैत्री बनाउने अपेक्षा गरिएको छ।