बाणगङ्गा, कपिलवस्तु । बाणगङ्गा नगरपालिका–८ मा रहेको त्रिशक्ति सामुदायिक बनले युवायुवती तथा शिक्षित वर्गलाई लक्षित गर्दै तीन दिने प्रस्ताव लेखन तालिम सुरु गरेको छ। सीपमूलक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम असार २० गतेदेखि २२ गतेसम्म ढोडेकोलस्थित महिला भवनमा सञ्चालन हुनेछ।

कार्यक्रमका प्रमुख अतिथि बाणगङ्गा वडा नं.८ का कार्यबाहक वडा अध्यक्ष शैलेन्द्र बेल्वासे रहनुभएको थियो। उहाँले भन्नुभयो, “स्थानीय तहमै यस्ता उपयोगी तालिमहरू सञ्चालन हुनु खुशीको कुरा हो। यस्ता तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बनाउने र उनीहरूको प्रतिभालाई सही दिशा दिने काम गर्छ।”

त्यस्तै, विशिष्ट अतिथि मोतिपुर सव डिभिजन वनका वरिष्ठ वन अधिकृत एजाज अंसारीले सामुदायिक वनको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “सामुदायिक वन उपभोक्ताहरूलाई वन व्यवस्थापनसँगै सामाजिक र आर्थिक सशक्तिकरणतर्फ लैजाने प्रयास सराहनीय छ। यो तालिम युवाहरूका लागि भविष्य निर्माणमा टेवा पुग्ने खालको छ।”

कार्यक्रमको अध्यक्षता त्रिशक्ति सामुदायिक बनका अध्यक्ष नाथुराम चौधरीले गर्नुभएको थियो। उहाँले उपभोक्ताहरूलाई वन उपयोगमै सीमित नराखी उनीहरूको सीप विकासमा केन्द्रित गराउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। बनका उपाध्यक्ष ज्वारिलाल घिमिरेले यस्ता तालिमहरू युवाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा ढोडेकोल टोल विकास संस्थाका अध्यक्ष विरबहादुर गुरुङ, चप्परगाउँ टोल विकास संस्थाका अध्यक्ष यमलाल भट्टराई, धनेशपुर टोल विकास संस्थाका अध्यक्ष निर्मला शर्मा, मोतिपुर सव डिभिजन वनका कर्मचारी, समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।कार्यक्रममा स्थानीय विद्यालय, स्वास्थ्य संस्थाहरू लगायत विभिन्न क्षेत्रबाट समेत उत्साहजनक सहभागिता रहेको थियो, जसले तालिमप्रति समुदायमा रहेको चासो र समर्थन झल्काउँछ।

तालिममा प्रमुख प्रशिक्षकको रूपमा सामाजिक विकास संस्था ‘मिल’ का को–अर्डिनेटर यादव भुसालले प्रशिक्षण दिनुहुनेछ। सहभागीहरूले प्रस्ताव लेखनसम्बन्धी सैद्धान्तिक ज्ञानसहित व्यवहारिक अभ्याससमेत गरिरहेका छन्।आयोजक तथा सहभागीहरूका अनुसार यस्ता तालिमहरूले युवाहरूको क्षमता विकास गर्दै स्थानीयस्तरमै स्वरोजगार तथा समाज परिवर्तनको ढोका खोल्ने विश्वास लिइएको छ।