बाणगंगा, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको मुना सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुलाई लक्षित गर्दै सर्फ बनाउने तालिम सम्पन्न गरेको छ। स्वरोजगार सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको तालिम मुना सामुदायिक वनको आर्थिक सहयोग र बिजनेस इन्टरप्रिनरसिप सपोर्टको व्यवस्थापनमा सञ्चालन गरिएको हो।मुना सामुदायिक वनका अध्यक्ष कुशल बहादुर थापाको अध्यक्षतामा सम्पन्न सो तालिमको समापन समारोह एक कार्यक्रमका बीच सम्पन्न भएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै वडा नं. २ का अध्यक्ष बिष्णु प्रसाद पौडेलले स्थानीय स्तरमा यस्तो सीपमूलक तालिमले समुदायमा आत्मनिर्भरता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक वन मात्र काठको स्रोत नभई, मानव स्रोत विकासको केन्द्र बन्नुपर्छ। उत्पादन र उद्यमशीलतामार्फत उपभोक्तालाई सक्षम बनाउनु नै सशक्तिकरणको प्रमुख आधार हो।”

त्यस्तै, विशिष्ट अतिथि पिपरा सव(डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मोहन मिश्रले सामुदायिक वनले सीप विकासमा देखाएको अग्रसरतालाई सकारात्मक दृष्टिकोणले लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “वन संरक्षणसँगै समुदायलाई आर्थिक रूपमा सक्षम बनाउने खालका कार्यक्रमले दीगो विकासमा टेवा पुर्‍याउँछ।”

कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा तालिममा सहभागी उपभोक्ताहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले अत्यन्त उत्साहपूर्वक तालिम लिएको बताउँदै आगामी दिनमा सर्फ उत्पादनसम्बन्धी उद्योग सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।