पशुपति गिरी,कपिलवस्तु, जेठ २७। अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी रहँदा लुम्बिनी प्रदेशबाट विष्णु घिमिरेले केन्द्रीय सदस्य पदमा शसक्त उम्मेदवारी दिएका छन्।जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। नेताहरूबीच सहमति नभए मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने तयारी गरिएको छ।

विगत एक दशकभन्दा अघिदेखि अनेरास्ववियुमा सक्रिय घिमिरेलाई शालीन, संघर्षशील र नीतिगत दृष्टिकोण भएका विद्यार्थी नेताको रूपमा चिनिन्छ। विद्यार्थी हित, शैक्षिक सुधार र प्रणालीगत विसंगति विरुद्ध स्पष्ट दृष्टिकोण राख्दै उनले उम्मेदवारी दिएका हुन्।

क्याम्पस कमिटी सदस्य हुँदै अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीको अध्यक्ष बनेका घिमिरे हाल लुम्बिनी प्रदेश कमिटी सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।उनले शिक्षा क्षेत्रमा विद्यमान बेथिति, अव्यवस्था र विसंगति अन्त्य गर्दै विद्यार्थी हक–हितमा संघर्ष गर्न उम्मेदवारी दिएको बताए। लुम्बिनी प्रदेशका विद्यार्थीबीच उनीप्रति सकारात्मक अपेक्षा र विश्वास रहेको देखिएको छ।