काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार काठमाडौंमा कार्यक्रम गर्दैछन्।

युवा संघको कार्यक्रम तीनकुनेमा र प्रसाईँको प्रदर्शन बल्खुमा हुने तय भएको छ। दुवै पक्षले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारी गरेका छन्। 

युवा संघले ‘सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ कार्यक्रम तिनकुने मा राखेको छ। यस्तै प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ भन्दै बल्खुमा कार्यक्रम गर्ने तय भएको छ।

यसअघि दुवैको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो। झपडको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिदिएको हो।